
लोकदोहोरी अवार्ड : सम्मान र उत्साहको संगम
July 1, 2026
काठमाडौं। नेपाली लोकदोहोरी संगीत क्षेत्रको प्रतिष्ठित कार्यक्रम ९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३ लाई लक्षित गर्दै कलाकार, स्रष्टा तथा संगीतप्रेमीमाझ उत्साह बढ्दै गएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा हुने यस अवार्डले लोकदोहोरी क्षेत्रमा योगदान पुर्याएका अग्रजलाई सम्मान गर्दै नयाँ पुस्ताका प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
अवार्डअन्तर्गत साउन ३ गते काठमाडौंस्थित स्काई पाटी प्यालेस मा उत्कृष्ट पाँच (टप–५) मनोनयन सार्वजनिक गरिनेछ। उक्त कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट कलाकार, सर्जक तथा स्रष्टाको अन्तिम मनोनयन घोषणा गरिने आयोजकले जनाएको छ।
त्यसपछि भदौ ६ गते पुलिस क्लब, भृकुटीमण्डपमा भव्य समारोहका बीच २४ वटा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। साथै, नेपाली लोकदोहोरी संगीतको संरक्षण, संवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई ८ वटा विभिन्न शीर्षकमा विशेष सम्मान अर्पण गरिने कार्यक्रम रहेको सास्था का अध्यक्ष सर्जक प्रसाद लामिछाने ले बताउनु भएको छ।
“अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमको मुख्य प्रायोजक गरिमा विकास बैंक रहेको छ भने लर्ड पार्टी प्यालेस प्रायोजकका रूपमा रहेको छ।
प्रतिष्ठानको मातहतमा रहेका उपत्यका समन्वय समितिअन्तर्गतका सम्पूर्ण १० वटै समितिको सक्रिय सहकार्यमा आयोजना हुने यस अवार्ड कार्यक्रमले नेपाली लोकदोहोरी संगीतको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि अवार्ड समारोहले उत्कृष्ट स्रष्टा र कलाकारलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नेपाली लोकसंस्कृतिको गरिमालाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
