९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड: साउन ३ मा मनोनयन, भदौ ६ मा मूल समारोह

काठमाडौं । नेपाली मौलिक संस्कृति र लोक संगीत क्षेत्रकै प्रतिष्ठित मानिएको ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ को औपचारिक तालिका सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा हुन लागेको यस वर्षको अवार्डको उत्कृष्ट पाँच (टप ५) मनोनयन आगामी साउन ३ गते सार्वजनिक गरिने भएको छ ।

काठमाडौंको जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजना हुने विशेष समारोहका बीच विधागत उत्कृष्ट पाँचको सूची सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

साउन ३ गते घोषणा हुने मनोनयनमा परेका स्रष्टा र सिर्जनाहरू मध्येबाट अन्तिम विजेताको घोषणा भने भदौ ६ गते गरिनेछ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्य सांस्कृतिक माहौलका बीच मूल अवार्ड प्रदान समारोह आयोजना हुने तय भएको छ ।

२४ विधा र ८ विशेष सम्मान‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने मूल नारा बोकेको यस अवार्डमा यस वर्ष कुल २४ वटा विभिन्न विधामा प्रतिष्पर्धा हुनेछ । गीत, संगीत, स्वर, शब्द, र भिडियो निर्देशन लगायतका विधामा उत्कृष्टहरूलाई ट्रफी प्रदान गरिनेछ। यसका साथै लोकदोहोरी क्षेत्रमा जीवन सुम्पेका अग्रज र विशिष्ट व्यक्तित्वहरूलाई ८ वटा फरक शीर्षकमा विशेष सम्मान अर्पण गरिने उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेले जानकारी दिए

यस वर्षको अवार्ड कार्यक्रमलाई थप व्यवस्थित र भव्य बनाउन गरिमा विकास बैंकले मुख्य प्रायोजक (बैंकिङ पार्टनर) को रूपमा सम्झौता गरिसकेको छ। त्यस्तै, लर्ड पार्टी प्यालेसले पनि प्रायोजकको रूपमा कार्यक्रमलाई साथ दिएको छ।

अवार्डको मनोनयन मिति नजिकिँदै जाँदा लोकदोहोरी कलाकार, सर्जक र अनुरागीहरू माझ कुन(कुन गीत र कलाकार टप ५ मा पर्लान् भन्ने चासो र कौतुहलता चुलिएको छ।

नवौ राष्ट्रिय लोक दोहोरी अवार्ड २०८३